काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा शुक्रबार कार्यपालिका बैठकमा उनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’
उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रुपमा बुझ्नुपर्छ ।’
काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्तीजन्य बस्तु निषेध सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न यो व्यवस्था गरिएको हो ।
ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।
सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त हो । नेपाल सर्जिकल अङ्कोलोजी समाजकाअनुसार धूमपान प्रयोगकर्ताहरु धुमपान नगर्ने व्यक्तिको तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्छन् । चुरोटमा ७२ किसिमका रसायन हुन्छन् ।
यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ । यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ । यस असरबाट सिर्जित समस्याबाट मानिसहरुले मृत्युवरण गरिरहेका छन् । आहारविहार र आचारविचारमा सानो मात्र परिवर्तन गर्न सकियो भने प्राणघातक समस्याबाट आफूलाई बचाउन सकिने भएकोले यस कार्यमा हरेक व्यक्तिको सक्रियता आवश्यक देखिन्छ ।