वायोमेडिकल ईन्जिनियर: एउटा पेशाकर्मीको रूपमा मेरो यात्रा र अनुभव

mohp

आफू सानै हुँदा वायोमेडिकल इन्जिनियर बन्छु भनी देखेको सपना पुरा हुनासाथ काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा मैले मेरो अध्ययन र बिषय अनुसारको जागिर पनि पाएँ । यो जागिर नै मेरो जिवनको पहिलो ब्यावसायीक कार्यकाल थियो । उमेरको जोश  सँगै केही नयाँ गर्ने सोचको विशाल परिदृश्यबीच मैले साढे तीन वर्षको ब्यावसायीक यात्रा यहीँ बाट सुरु गरेको थिएँ ।


जिम्मेवारी अनुसारको काममा आफू नितान्त नयाँ हुँदा हुँदै पनि सिक्ने चाहना प्रचुर हुँदा केही अन्यौलताका बीच पनि मैले शुरु गरेको यो पेशागत जीवनको पहिलो यात्राको साक्षी नर्भिक बन्न पुग्यो । जसले मेरो पुरै कार्यकाल निकै अविस्मरणिय बनाउन मद्दत गर्यो । यहाँको जागिर अवधि भरी चिकित्सीय उपकरणको योजना,  मरम्मत,  भण्डारण र व्यवस्थापन जस्ता नौला अनी केही जटिल क्षेत्रमा काम गर्ने मौका पाएको थिएँ, जुन पछि मेरो ‘करीअरको’ एक महत्वपूर्ण कालखण्डको रुपमा दरिन पुग्यो । 

मेरो अध्ययनको बिधा अनुसार जागिरे जिवनको पहिलो ‘नर्भिक अनुभव’मा वायोमेडिकल ईन्जिनियरिङ् विभागसँग आफ्नो नातालाई कसिलो बनाउनु त छँदै थियो,  मैले गर्नु पर्ने कामको सूची  पनि निक्कै लामो थियो । प्राप्त जिम्मेवारी र बिषयको गम्भिर्यतालाई सँगै लिएर आफ्नो ज्ञानको सीमालाई बढाउँदै  कार्य गर्दै पनि गएँ ।  काम प्रतिको मेरो संवेदनशिलता, रुची र लगाव पनि बढ्दै गयो जसले गर्दा मैले मेरो बिषय वायोमेडिकल इञ्जिनियरिङ्ग को छनोटमा कुनै गल्ती गरेनछु भन्ने आभाष भई सकेको थियो । 

त्यो पहिलो जागिरे जिवनमा स्वास्थ्य क्षेत्रका बिभिन्न तहका जनशक्तिहरुलाई उनीहरुको आवश्यकता र बिरामीको स्वास्थ्य उपचारहरुमा प्रयोग हुने उपकरणहरुको जडान र ब्यवस्थापनका साथै क्षमता अनुसार कार्य सम्पादनमा प्रत्यक्ष संलग्न हुन पाउँदा धेरै कुराहरु सिक्ने मौका मिलेको थियो । उपकरणहरुको  उचित योजना, कुशल सञ्चालन र ‘रेकर्ड-किपिंग’ सम्मका  महत्वपूर्ण कार्यमा आफ्नो ज्ञानको अधिकतम प्रयोग गर्ने एउटा दरिलो आधार पाएको थिएँ । 

स्वास्थ्य क्षेत्रमा दिनानुदिन प्रयोग हुने अत्याधुनिक यन्त्र र उपकरणहरुले यो क्षेत्रलाई जती सहज र चुस्त बनाउँदै छन् त्यती नै त्यस्ता उपकरणहरुको उचित प्रयोग र बिश्वसनीय परिणामको लागि नियमित अनुगमन गर्नु र यसको प्रणालिगत प्रयोगको सुनिश्चितताका लागि दिनरात खटिनु त्यती नै जटिल छ । यस बिधासँग प्रत्यक्ष सम्बन्ध हुनेले देखाउनु पर्ने समन्वयात्मक चुस्तता वास्तवमै अती संवेदनशिल छ । ब्यवस्थापन र सरोकारवालले यसको त्यो संवेदनशिलता नबुझिदिने हो भने हामी जस्ता वायोमेडिकल इन्जिनियरहरुको परिश्रम र ज्ञान अनी सीपको प्रयोगको कुनै अर्थ रहन्न न सेवाग्राहीले नै त्यसबाट कुनै लाभ लिन सक्छन । 

नर्भिक हस्पिटलमा बिताएको त्यो अबधिमा मैले प्राप्त गरेको अनुभवहरु वायोमेडिकल इन्जिनियरिङ भित्रका कतीपय देखिने र कतीपय सूक्ष्म पक्षहरूको लेखा र ब्यवस्थापनका सन्दर्भमा आफूलाई निखार्ने एउटा अवसर पनि थियो ।  उपकरणहरुको सूचीहरू श्रृजना गर्दा आइपर्ने जटिलताहरू र यसको महत्वलाई ब्यवहारिक र गहन रुपमा बुझ्ने मौका पाएको थिएँ ।

कितावी ज्ञानका हरेक पक्षहरुलाई व्यबहारिकतामा प्रयोग गर्न नसक्ने हो भने अथवा भनौं त्यो अवसर नपाउने हो भनें र म जस्तै युवाहरुले आफ्नो अध्ययन अनुसारको अवसर र जिम्मेवारी नपाउने हो भने त्यो ज्ञानको कुनै अर्थ नहुने रहेछ । मेरो उच्च शिक्षाको क्रममा पढेका कतीपय कुराहरु कहिले काहीँ मेरो उद्देश्यको तुलनामा बिषयान्तर भए जस्तै लाग्थ्यो र भोली मेरो ज्ञान र दक्षता कतै देखाउन नपाइने पो हो की भन्ने लागिरहन्थ्यो । तर मेरो ब्यावसायीक जीवनको पहिलो पाइलामै नर्भिक अस्पताल जस्तो संस्थामा काम गर्ने अवसर पाएको थिएँ । स्वास्थ्य संस्थाको ब्यावसायीक र चुस्त सञ्चालनका सन्दर्भमा र बिरामीको हेरचाहमा प्रयोग हुने चिकित्सकिय उपकरणहरूले उनीहरुलाई कसरी प्रत्यक्ष प्रभाव पार्छ भन्ने कुरालाई समयानुकुल बुझ्ने मौका पाएको थिएँ । 

यो सिकाई र बुझाईले मलाई सूची व्यवस्थापनका चुनौतीहरू कुशलतापूर्वक सामना गर्ने र यसलाई निमिट्यान्न गर्ने क्षमतालाई उजागर गरेको थियो । उपकरणको योजना छनौट जडान मर्मत सम्भार र तत्काल लिनु पर्ने उचित निर्णयका लागि आफूलाई सक्षम बनाउन सहयोगी साबित भएको थियो । अस्पतालको वायोमेडिकल इन्जिनियरिङ्ग विभागमा पदस्थापित मेरो कार्यले अस्पतालको क्षमता मात्र बढाएन, मेरो ब्यावसायीक विकासमा पनि महत्वपूर्ण सहयोग पुर्याएको मैले महशुस गरेको छु । 

यसै सिलसिलामा अध्ययन र पहिलो जागिरे अनुभव पछि निखारिएको आफ्नो अनुभवलाई लिएर नयाँ सेटअप सहित सेवा आरम्भ गरेको राजधानीकै अर्को सुविधा सम्पन्न फ्रन्टलाइन अस्पतालमा वायोमेडिकल इन्जिनियरिङ्ग विभागको विभागिए प्रमूखको रुपमा जिम्मेवारी सम्हाल्न थालेको छु । यहाँका उपकरणहरु मैले पहिले काम गरेको संस्थाका तुलनामा नयाँ भए पनि त्यो मेरो लागि नौला भने भएनन् । किनभने मैले आफ्नो अध्ययन र पहिलेको कामको अनुभवले जस्तो सुकै जटिल उपकरणहरुलाई पनि सहज रुपमा सञ्चालन गर्न सक्छु भन्ने अत्म बिश्वास म भित्र जागी सकेको छ । 

त्यसैले अहिले अस्पतालको वायोमेडिकल ईन्जिनियरिङ् विभागमा विभागिय प्रमूखको रुपमा मेरो भूमिकाले मलाई यस क्षे,त्रको रणनीतिक पक्षमा संलग्न हुने अवसर पनि प्रदान गरी रहेको छ । नयाँ प्रबिधी अपनाउने सम्बन्धमा उच्च स्तरिय बैठकहरुमा भाग लिन पाउनु, यस क्षेत्रका दिग्गज र अनुभवी ब्यक्तिहरु सँग नियमित सम्पर्कमा बस्न पाउनु र नयाँ कुराहरु निरन्तर सिक्न पाउनु मेरो लागि ठूलो उपलब्धि मानेको छु । अस्पतालको आवश्यकता बमोजिमको उपकरणको ड्राफ्टिंग देखि,  यसको प्रवन्ध सम्मको बहुआयामी प्रकृतीका कामहरु गर्ने मौका पाउनु मैले ठूलो उपलब्धि मानेको छु । 

मैले पहिले काम गरेको नर्भिक अस्पताल एउटा कार्यस्थल मात्र नभएर मेरो ब्यावसायीक विकास र अनुभवको लागि एउटा मौका थियो भने अहिलेको फ्रन्टलाइन अस्पताल वायोमेडिकल ईन्जिनियरिङ् विभागमा प्राप्त तिनै अनुभवहरुको विशेषज्ञता र ज्ञानलाई  आकार दिन महत्त्वपूर्ण प्लाटफर्म भएको छ ।  

फ्रन्टलाइन अस्पतालमा अहिले आवद्ध रहँदा निश्चय पनि स्वास्थ्य सेवामा प्रविधिको निरन्तर विकस भई रहने परिदृश्यमा आफ्नो यात्रालाई जारी राखि रहँदा पनि मनमा उठेको एउटा पुरानो आफ्नै जिज्ञासा “अस्पतालमा वायोमेडिकल विभाग किन राख्नु नै पर्यो र ?” भन्ने आम बुझाईमा परिवर्तन कहिले आउला भन्ने प्रती भने अहिले पनि निरुत्तरित रहने गरेको छु । यद्धपी सहकर्मीले दिने इज्जत सँगै आफूले रेखदेख गरेको उपकरणहरुकै कारण बिरामीहरुले नयाँ जीवन प्राप्त गर्दा पाउने खुसीले यस्ता झिना मसिना आशंका र जिज्ञासा त्यसै हराएर पनि जाने रहेछन । 

बिकसित देशहरुमा सर्जनले अप्रेसन गर्दा एक जना वायोमेडिकल इन्जिनियर समेत अप्रेशन थिएटरमा सँगै राख्ने अभ्यास शुरु भई सक्दा समेत हाम्रो देशमा भने यो पेशाका हामीलाई आर्थिक भारको रुपमा हेर्ने वानी अझै गई सकेको छैन । यद्धपी मैले काम गरेका दुवै संस्थाका सञ्चालकहरुमा भने त्यो किसिमको भावना मैले पाएको छैन । 

प्रविधीलाई अपनाउने संस्थाहरुले अझै पनि हामी प्राविधिकहरुलाई स्वीकार गर्न अप्ठ्यारो मानिरहेको अवस्था हुँदा हुँदै पनि पछिल्ला केही वर्षहरु देखि वायोमेडिकल इन्जिनियरिङ्ग बिधामा युवा पुस्ताको आकर्षण निक्कै नै बढेको देखिएको छ । चिकित्सा विज्ञान र ईन्जिनियरिङ्गको मिश्रणको रुपमा पनि लिइने वायोमेडिकल इन्जिनियरिङ्ग जैविक चिकित्साजन्य वस्तु, तन्तु सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने देखि चिकित्सकीय क्षेत्रमा प्रयोग हुने उपकरण सञ्चालन गर्ने सम्बन्धमा हुने विशेष भूमिकालाई राम्ररी बुझेका नयाँ पुस्ताको यस बिषय प्रति आकर्षण बढ्नु स्वभाविक पनि हो । तर  प्रशस्त समय र आर्थिक लगानी पश्चात प्राप्त गरेको ज्ञान र सीप अनुसारको रोजगारीका लागि अझै समस्याहरु नभएका भने होइनन् । एक सय शैयाँ देखि माथीका सवै अस्पतालले कम्तीमा एक जना वायोमेडिकल इन्जिनियर राख्नै पर्ने सरकारी ब्यवस्था हुँदा हुँदै पनि करोडौं लगानी गरेर अस्पताल खोल्ने सरोकारवालाहरु यो ब्यवस्था र बिधालाई सकेसम्म छल्न खोज्ने देखिएको छ । बिकसित देशहरुमा सर्जनले अप्रेसन गर्दा एक जना वायोमेडिकल इन्जिनियर समेत अप्रेशन थिएटरमा सँगै राख्ने अभ्यास शुरु भई सक्दा समेत हाम्रो देशमा भने यो पेशाका हामीलाई आर्थिक भारको रुपमा हेर्ने वानी अझै गई सकेको छैन । यद्धपी मैले काम गरेका दुवै संस्थाका सञ्चालकहरुमा भने त्यो किसिमको भावना मैले पाएको छैन । 

समग्रमा पछिल्लो समयमा अस्पताल ब्यवस्थापनमा कानूनी प्रावधान र वायोमेडीकल इन्जिनियरिङ्ग शाखाको महत्व बुझि सकेका शिक्षित व्यक्तिहरुको प्रवेश भए सँगै सिमीत कलेज र कोटा अनी स्वदेशमै थप अध्ययनको लागि लगभग विकल्प बिहीन अवस्था हुँदा हुँदै पनि बिरामीको जीवन मरण सँगै पनि प्रत्यक्ष सम्बन्ध हुने यो बिधा लिएर अध्ययन गरिरहेको नयाँ पुस्ताले भने आफ्नो बिषय अनुसारको कार्य क्षेत्र र जिम्मेवारी पाउने निश्चित प्राय: छ ।  

अन्त्यमा पेशागत मर्यादा र सम्मान सहितको रोजगारी सबै वायोमेडिकल इन्जिनियरहरुले प्राप्त गर्न सकुन । मैले काम गरेको नर्भिक अस्पताल र काम गरि रहेको फ्रन्टलाइन अस्पतालहरुले जस्तै सबै रोजगारदता संस्थाले हाम्रो पेशाको उचित सम्मान दिँदै हाम्रो सीप ज्ञान र दक्षताले बिरामीहरुको उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै परिणामयोग्य स्वास्थ्य सेवा प्रदान गर्न सकुन, अहिलेलाई यही कामना ।